सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी जुगलको एकता समायोजन तथा विस्तारित बैठकसँगै सहिद प्रतिष्ठान नेपाल जुगल शाखाको नवनिर्मित भवन उद्घाटन गरिएको छ। पूर्वसांसद तथा पार्टीका केन्द्रीय सदस्य माधव सापकोटाले एक कार्यक्रमबीच भवन उद्घाटन गरेका हुन्। भवन बागमती प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता सापकोटाले नेपालमा वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताए। पछिल्लो राजनीतिक परिस्थितिमा नागरिकले अभाव, महँगी र अस्तव्यस्तताको सामना गर्नुपरेको उल्लेख गर्दै उनले वामपन्थी शक्तिलाई सुदृढ बनाउन स्पष्ट राजनीतिक खाका आवश्यक रहेको धारणा राखे। आगामी निर्वाचनमा पार्टीप्रति थप जनविश्वास कायम गर्न उनले नेता–कार्यकर्तालाई आग्रह गरे।
पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अमृता नेपालले सदस्यता विस्तार, नवीकरण र सदस्यता डिजिटाइजेसनको कामलाई प्रभावकारी बनाउन निर्देशन दिइन्।
जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले आफ्नो कार्यकालमा जनभावनाअनुसार काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि रचनात्मक सुझाव र सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयको सहभागिता थियो। भेलाले संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई प्राथमिकतामा राख्ने निर्णय गरेको जनाइएको छ।